Wednesday, July 15, 2015

कविता-रातो स्टिकर

एक हुल मानिसहरु आए
नियाले भत्किएको, चर्किएको घर
जोखिम, अयोग्य खातामा लेखे
झिके ड्याम्म लगाए रातो स्टिकर

जिन्दगीभरको उनीहरुको कमाई
भुईँचालोले स्वाहा पार्यो, छाती चरचर
आँखाभरी आँसु पार्दै दम्पतीले टुलुटुलु
हेरिरहे घर, अनि त्यो रातो स्टिकर

वर्षाको बेला अब के गर्ने होला
खुल्ला आकाश, तातो चिसोको डर
कुन खर्चले पुन:निर्माण, खै राहत
बाबु नजाउ भित्र उ हेर रातो स्टिकर

नातागोता छरछिमेक भन्छन् बिचरा
फेसबुकमा फोटो राख्छन् मिडियामा खबर
पत्तै छैन सरकारको के नीति के सहयोग
ढल्न लागेको भित्तामा रातो स्टिकर

हामीलाई बज्रपात पीडा दु:खीरह्यो
हामी मात्र हामीसँग छैन कसैको भर
कतै त्रिपाल कतै चाउचाउ कतिन्जेलसम्म
हामीलाई छोडिगए रातो स्टिकर

No comments: