Sunday, December 13, 2015

कविताः शान्तिप्रेमी

शान्ति  प्रेमी नेपालीको
आज किन यस्तो हाल भो ?
बुद्ध जन्मेको नेपालमा
बुद्धिको किन अनिकाल भो ?
पहरा गर्ने स्वयम्भुको तिनै नेत्र
कहीं बन्दै भएनन ?
रक्षा गर्ने पशुपतिले शक्ति बोकी
कहि अन्तै गएनन ?

बुद्धको शान्त अनुहारमा पनि
चिन्ताको रेखा भेट्छु
स्वयम्भुको मौन आँखामा पनि
विवशताको आँशु देख्छु
विशाल हिमालको छातीमा
आजभोलि बिजुली चम्किन्छरे
संधै शान्त हुने ती गाउँ बेसिमा
पनि चट्टान थर्किन्छरे

                            मन उदाँश ,सोच्दै छु
                            कहीं शाहीदको बलिदान
                            त्यसै खेर जाने हैन ?
                                                  लुटेरा हरु तयार छन बस्ती लुट्न
                            कहीं पुर्खाको धरोहर लुटेर लाने हैन



Wednesday, July 15, 2015

कविता-रातो स्टिकर

एक हुल मानिसहरु आए
नियाले भत्किएको, चर्किएको घर
जोखिम, अयोग्य खातामा लेखे
झिके ड्याम्म लगाए रातो स्टिकर

जिन्दगीभरको उनीहरुको कमाई
भुईँचालोले स्वाहा पार्यो, छाती चरचर
आँखाभरी आँसु पार्दै दम्पतीले टुलुटुलु
हेरिरहे घर, अनि त्यो रातो स्टिकर

वर्षाको बेला अब के गर्ने होला
खुल्ला आकाश, तातो चिसोको डर
कुन खर्चले पुन:निर्माण, खै राहत
बाबु नजाउ भित्र उ हेर रातो स्टिकर

नातागोता छरछिमेक भन्छन् बिचरा
फेसबुकमा फोटो राख्छन् मिडियामा खबर
पत्तै छैन सरकारको के नीति के सहयोग
ढल्न लागेको भित्तामा रातो स्टिकर

हामीलाई बज्रपात पीडा दु:खीरह्यो
हामी मात्र हामीसँग छैन कसैको भर
कतै त्रिपाल कतै चाउचाउ कतिन्जेलसम्म
हामीलाई छोडिगए रातो स्टिकर

Friday, July 10, 2015

सहर नआऊ आमा


आमा, सहरको त पानीले पनि पोल्छ, 
दिनभर मान्छे बेसाएर 
कुनाकाप्चा चिहाउन पठाए नि 
असार भेटिँदैन 
यहाँ त पानी किन्ने हो 
खेत बनाउने हो र 
एक दिनलाई असार भित्र्याउने हो । 
साँच्चै आमा, 
यहाँ त तातो रहर बोक्नेहरुको मात्रै भीड छ 
गाउँमा जस्तो 
हिलोले खाएको खुट्टा हिलैले होइन 
मलम र सर्जरीले निको हुन्छ 
तिमी अझै सहर–सहर भन्छ्यौ आमा
यहाँ खुसी किन्नलाई रेस्टुरेन्ट जानुपर्छ
गर्मी छल्नलाई रंगीन पानीसँगै हस्पिटल दगुर्नुपर्छ 
आमा तिमी पर्म लाउँदै खेतालासँग पीर पोख्नमा पोख्त छौ 
मैले त साथीहरु किनेकी छु
पैसा तिरेर हाँसेकी छु
बिन्ती आमा, सहर आउने इच्छा नदेखाऊ 
यहाँ न असार छ न त खुसी
यहाँ त मुकुट लगाएका मान्छेहरु 
र श्यामश्वेत जिन्दगी मात्र छ ।
बरु आमा, मेरो गाउँ कहिल्यै सहर नबनोस् 
जहाँ हिलो खेल्न लाई महोत्सव कुर्नुपर्छ .