आमा, सहरको त पानीले पनि पोल्छ,
दिनभर मान्छे बेसाएर
कुनाकाप्चा चिहाउन पठाए नि
असार भेटिँदैन
यहाँ त पानी किन्ने हो
खेत बनाउने हो र
एक दिनलाई असार भित्र्याउने हो ।
साँच्चै आमा,
यहाँ त तातो रहर बोक्नेहरुको मात्रै भीड छ
गाउँमा जस्तो
हिलोले खाएको खुट्टा हिलैले होइन
मलम र सर्जरीले निको हुन्छ
तिमी अझै सहर–सहर भन्छ्यौ आमा
यहाँ खुसी किन्नलाई रेस्टुरेन्ट जानुपर्छ
गर्मी छल्नलाई रंगीन पानीसँगै हस्पिटल दगुर्नुपर्छ
आमा तिमी पर्म लाउँदै खेतालासँग पीर पोख्नमा पोख्त छौ
मैले त साथीहरु किनेकी छु
पैसा तिरेर हाँसेकी छु
बिन्ती आमा, सहर आउने इच्छा नदेखाऊ
यहाँ न असार छ न त खुसी
यहाँ त मुकुट लगाएका मान्छेहरु
र श्यामश्वेत जिन्दगी मात्र छ ।
बरु आमा, मेरो गाउँ कहिल्यै सहर नबनोस्
जहाँ हिलो खेल्न लाई महोत्सव कुर्नुपर्छ .
No comments:
Post a Comment